लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा बिरामीको लागि रगत निःशुल्क
गुलरिया । लुम्बिनी प्रदेश सरकारले आईतबारदेखि नै लागू हुने गरि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत निःशुल्क गरेको छ। निःशुल्क रगत प्राप्तीका लागि कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा जानुपर्ने बर्दिया अस्पतालका प्रमुख, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. शुभाष पाण्डेयले बताउनु भयो।
सरकारी अस्पतालमा आउने विरामीका लागि आवश्यक पर्ने रगत पनि सरकारले निःशुल्क गरेको हो। यसअघि रक्तदाताले निःशुल्क रूपमा रगत उपलब्ध गराए पनि व्याग लगायतका सामाग्रीको नाममा रगत प्रयोगकर्ताले प्रति व्याग ८ सय रूपैयाँ बुझाउँदै आएका थिए।
निःशुल्क सेवाको शुभारम्भ गर्दै प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले जनताको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्धेश्यका साथ काम गरिरहेको बताउनु भयो। प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारी अस्पतालमा आउने विरामीको लागि निःशुल्क रगत उपलब्ध गराउने गरि बजेट विनियोजन गरेको थियो।
बजेटमा निःशुल्क रगतका लागि ३ करोड र अस्पतालको ईमर्जेन्सी र ओपिडी टिकट तथा जनरल बेड निःशुल्क गर्नका लागि एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ। निःशुल्क रगत उपलब्ध गराउन लुम्बिनी प्रादेशिक अस्पताल, बर्दिया अस्पताल लगायत प्रदेशका सरकारी अस्पतालहरू र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भईसकेको छ।
रगतको निःशुल्क गरिएपछि इमरजेन्सी अवस्थामा रगत आवश्यक पर्ने विरामीलाई राहत मिल्नेछ। रक्तसञ्चार सेवा केन्द्रका अनुसार लुम्बिनी प्रदेशका सबै अस्पतालमा आउने विरामीहरुको मागको आधारमा लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुँदै आएको छ।बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङस्थित राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गरेको छ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमै यी दुई वटा अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गर्ने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आईतबार उक्त निःशुल्क सेवाको शुभारम्भ भएको घोषणा गरेका हुन्।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुररिटेण्डेन्ट डा. इन्द्र ढकालले ईमरजेन्सी र ओपिडी टिकट निःशुल्क गरिए पनि काउन्टरबाट बिरामीको लागि टिकट भने काट्नुपर्ने बताउनु भयो।
प्रतिकृया दिनुहोस्