February 9, 2025, Sunday
२७ माघ २०८१, आईतवार

कोइला बालेर सुतेकाले निसासिएर मृत्यु

कोइला बालेर सुतेकाले निसासिएर मृत्यु

नेपालगन्ज । भेरी अस्पतालको आभास गृहमा बस्दै आएका एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको छ।
अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उहाँका ३ महिनाको छोरा इप्सन भट्टराई, सासू अन्दाजी ५५ वर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
एउटै कोठामा सुतेका उनीहरूको निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको एसपी अधिकारीले बताउनुभयो ।
स्टोरको कर्मचारीले काम परेपछि राती १ बजेतिर पटक पटक सम्पर्क गर्दा सम्पर्कमा नआएका भट्टराईसहित ४ जना बिहान ६ बजेतिर कोठामा हेर्दा मृत अवस्थामा भेटिएका एसपी अधिकारीले जानकारी दिनुभयो । सँगै कोठामा रहेका अन्य तीन जना अचेत अवस्थामा थिए । उनीहरूको भेरीमै उपचार भइरहेको छ ।
भट्टराईकी श्रीमती २२ वर्षीया सुशीला, ३ वर्षीय छोरा दिवस र १८ वर्षीय भाइ नरेशको उपचार भइरहेको छ । सुत्ने बेला उनीहरू कोइला बालेर सुतेको बताइएकाले निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको हो ।