चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) १९औं केन्द्रीय समितिको छैठौं बैठक बेइजिङमा जारी
बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) १९औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक सोमबारदेखि बेइजिङमा सुरू भएको छ । बैठकमा पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले राजनीतिक आयोगका तर्फबाट कार्य प्रतिवेदन प्रस्तुत गर्नु भएको छ।
केन्द्रीय समितिको राजनीतिक ब्यूरोको तर्फबाट पूर्ण बैठकमा ‘इतिहासमा सीपीसीका प्रमुख उपलब्धी र शताब्दीका ऐतिहासिक अनुभव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको संकल्प’ विषयक कार्य प्रतिवेदन पेस गर्नु भएको हो । बैठक बिहीबारसम्म चल्नेछ ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार सीले प्रस्तुत गरेको प्रतिवेदनमा एक सय वर्षको ऐतिहासिक महत्वपूर्ण घटनाको समीक्षा, मजबुत पार्टी एकता, सी चिनफिङ केन्द्रीत सुदृढ पार्टी नेतृत्व, पार्टीको दिशानिर्देश लगायतका विषयहरू केन्द्रित छन् । चिनियाँ राजनीतिक विश्लेषकहरूले यो पूर्ण बैठकले आगामी केही दशकका लागि चिनियाँ कम्युनिष्ट पार्टीको रेखाचित्र निश्चित गर्नसक्ने बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीले स्थापनाको शतवार्षिकी पार गरेपछिको प्रथम राजनीतिक घटनाका अलावा कोरोना महामारी, खोप कूटनीति, गरिबी निवारणमा प्राप्त सफलता, अन्तर्राष्ट्रिय सम्बन्ध, ताइवान एकीकरणमा चीनको अग्रसरताकाबीच अमेरिकासँग चर्कँदै गएको तनाव, सन् २०३५ समाजवादी आधुनिकीकरण, सन् २०४९ जनगणतन्त्रको शतवार्षिकीका लागि निर्धारित लक्ष्य, सीपीसीले घोषणा गरेका द्वीशताब्दी कायाकल्प अभियानका लागि नेतृत्व मियोजस्ता विषय यस पूर्ण बैठकका आकर्षक पक्ष हुन् ।
सीपीसीका तर्फबाट चिनियाँ सामाजिक सञ्जालहरूमा प्रस्तुत भनाइहरूलाई आधार मानेर विश्लेषकहरूले बताएअनुसार विगत एक सय वर्षलाई सिंहावलोकन गर्दा सीपीसी किन सफल भयो भन्ने विषयलाई कसरी तन्काउने भन्नेमा पनि बैठक केन्द्रीत छ । गत जुलाई १ तारिख थ्यानमन स्क्वायरमा भएको सीपीसी शतवार्षिकी समारोहमा सीले विगतको एक शताब्दीलाई समीक्षा गर्दा सफलताको रहस्य र भविष्यको सफलता पछ्याउने विषय उठाएका थिए । सीपीसीको मिसनप्रति निष्ठा राख्दै सुन्दर भविष्यको यात्राका लागि अझै संकल्प र दृढता राख्नुपर्ने सीको अन्तर्य थियो । यसै पूर्ण बैठकका निर्णयहरू आसन्न सातौं पूर्ण बैठक हुँदै आगामी मार्चमा हुने ‘दुई ठूला अधिवेशन’बाट पारित हुने भएकाले विश्वसमुदायमा अझ बढी चासो चुलिएको देखिन्छ । विशेषतः एक नेताको वरिपरि पार्टी र सरकार घुम्ने परिपाटीप्रति पश्चिमा जगतको टिप्पणी रहन्छ ।
इतिहासलाई ऐनाको रूपमा लिएर भविष्यमा कसरी सफल भइरहन सकिन्छ भन्ने कुरालाई ‘तीन आवश्यकता’बाट संक्षेप गरिएको छ । पहिलो, पार्टीको शताब्दी लामो इतिहासलाई मध्यनजर गर्दै चिनियाँ विशेषतायुक्त आधुनिक देश निर्माणको नयाँ यात्रा सुरु गर्न, दोस्रो चेतना, आत्म-विश्वास र पार्टी एकता सुरक्षित गर्न र तेस्रो, पार्टीभित्रको क्रान्तिलाई अगाडि बढाएर चिनियाँ सपना साकार तुल्याउन आवश्यक रहेको भनिएको छ ।
प्रतिकृया दिनुहोस्