January 9, 2025, Thursday
२५ पुष २०८१, बिहीबार

पत्रकारलाई फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवा निलम्बन भई प्रहरी निगरानीमा

पत्रकारलाई फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवा निलम्बन भई प्रहरी निगरानीमा

रौतहट । पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवालाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको हो ।

निलम्बन अघि घटनाको सूक्ष्म अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेश कार्यालयलाई निर्देशन दिएको थियो । त्यस लगत्तै प्रदेश प्रहरी कार्यालयले असई यादव र जिल्ला प्रहरी कार्यालय रौतहटले जवान यादवलाई निलम्बन गरेका हुन् ।

साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएका दुई घुमुवा प्रहरीको योजनामा मोहम्मद मोजिबुल्लाह र शेख अतिउल्लाह सवार बिआर ३० एस–१८८७ नम्बरको मोटरसाइकलमा लागूऔषध नाइट्रोभेटका १५० ट्याबलेट राखिएको थियो ।

घुमुवाको योजनामा धिरज यादव र जितकुमार यादवले मोटरसाइकलमा लागू पदार्थ राखेको भेटिएपछि दुवै जनालाई आपराधिक षड्यन्त्र गरेको कसुरमा जिल्ला अदालत रौतहटबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीले जनाएको छ । दुई घुमुवालाई पनि निलम्बन गरिएको हो । उनीहरु प्रहरीको निगरानीमा छन् ।

प्रहरी प्रवक्ता बसन्त कुँवरले सादा पोसाकका दुई प्रहरी घटनामा संलग्न रहेको देखिएकोले कानुन अनुसार कारबाही प्रक्रिया अघि बढिसकेको बताउनु भयो।