December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

सरकार गठनको आह्वान गर्न लुम्बिनी प्रदेश प्रमुखसमक्ष माग

सरकार गठनको आह्वान गर्न लुम्बिनी प्रदेश प्रमुखसमक्ष माग

बुटवल । लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकार अल्पमतमा रहेको भन्दै वर्तमान संविधानको धारा १६८(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन सोमबार प्रदेश अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनका तर्फबाट लिखित पत्र बुझाइएको हो ।
प्रदेश सभामा ३८ सदस्य रहेको एमालेले संविधानको धारा १६८ को १ अनुसार सरकार चलाउने वैधता गुमाएको भन्दै गठबन्धनले प्रदेश प्रमुखले संविधान र संसदीय प्रणालीको मर्मअनुसार अर्को सरकार गठन प्रक्रिया थाल्नुपर्ने बताएका छन् । हाल प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नभएकाले संविधानविपरीत रहेकाले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्ने निवेदनमा उल्लेख छ ।
पत्र बुझाउँदै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले संविधानको रक्षा गर्ने प्रदेश प्रमुखको जिम्मेवारी भएकाले उहाँबाटै प्रक्रिया थाल्न आह्वानपत्र बुझाएको बताउनु भयो । ‘संविधानविपरीत हुँदा पनि मुख्यमन्त्रीले सरकार छोड्ने मनशाय देखाउनुभएन । प्रदेश प्रमुखले नै वर्तमान सरकारको वैधता हेर्न र नयाँ सरकार गठनका लागि पहल गरिदिनुपर्‍यो,’ उँहाले भन्नु भयो ।
माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि छोटो बाटो अपनाउन प्रदेश प्रमुखलाई आह्वान पत्र बुझाएको बताउनु भयो।
आह्वान पत्रमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितका दलका ४१ सांसदको हस्ताक्षर छ ।
आह्वान पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीसँगको छलफलपछि थप प्रक्रिया थाल्ने बताउनु भयो। ‘सरकारको आधारबारे छलफलका लागि उहाँलाई आजै बोलाएको छु । त्यसपछि अन्य प्रक्रिया थालिनेछ,’ उहाले भन्नु भयो ।