December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

लुम्बिनी पत्र । नेपालको संविधानले प्रस्तावनामा नै नागरिक स्वतन्त्रता, मौलिक अधिकार र पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गरेको छ। भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गतको धारा १७ स्वतन्त्रताको हकमा विचार र अभिव्यक्तिको स्वतन्त्रता, संघ र संस्था खोल्ने स्वतन्त्रता रहने र धारा १८ समानताको हक: सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् भनी उल्लेख गरिएको छ।

धारा १९ सञ्चारको हक अन्तर्गत उपधारा १ मा प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्नु पूर्व प्रतिबन्ध नलगाउने, उपधारा २ मा आमसञ्चारसम्बन्धी कुनै पनि विषयवस्तु कुनै पनि माध्यमबाट प्रकाशन, प्रसारण गरेबापत सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्रीलाई जफत नगरिने तर आमसञ्चार क्षेत्रको नियमन गर्न ऐन बनाउन सकिने र उपधारा ३ मा कानूनबमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोन  लगायतका सञ्चार साधनलाई अवरुद्ध नगरिने उल्लेख भएको छ। धारा २७ सूचनाको हकमा कानूनबमोजिम गोप्य राख्नुपर्ने सूचना बाहेक प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुने व्यवस्था सुनिश्चित गरिएको छ। धारा २८ को गोपनीयताको हकमा कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानूनबमोजिम अनतिक्रम्य हुनेछ भनी उल्लेख गरिएको छ। धारा ४६ मा मौलिक हकहरुको प्रचलनका लागि धारा १३३ वा १४४ मा लेखिएबमोजिम संवैधानिक उपचार पाउने हक समेतको स्पष्ट व्यवस्था गरिएको छ।

संविधानको अनुसुची ५ मा धारा ५७ को उपधारा (१) र धारा १०९ अनुरुपको संघको अधिकार सूचीअन्तर्गत दूरसञ्चार, रेडियो फ्रिक्वेन्सीको बाँडफाँड, रेडियो टेलिभिजन र हुलाक, अनुसूची ६ मा प्रदेशको अधिकार सूचीअन्तर्गत रेडियो, एफ.एम. टेलिभिजन सञ्चालन, अनुसूची ७ मा संघ र प्रदेशको साझा अधिकारको सूचीअन्तर्गत सञ्चारसम्बन्धी सहित चलचित्र, सिनेमा हल, र अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचीअन्तर्गत एफ.एम. सञ्चालन राखी स्पष्टरुपमा अधिकार क्षेत्र निर्धारण गरिएको छ।